नुवाकोट बेलकोटगढी नगरपालिकाका गुठीका किसानले कमाईरहेको जग्गा रैतानी गर्न माग गरेका छन् । जुन उद्देश्यको लागि गुठी राखिएको हो, त्यसको व्यवस्थापन स्थानीय तहले बजेट व्यवस्था गर्न थालेको र तत्कालिन समयको पाटी, पौवा आदि नभएको अवस्था हुँदा किसानलाई रैती बनाईराख्नु अन्यायपूर्ण भएको किसानको भनाई छ । दुईपिपलमा वैषाख ११ गते भएको भेलामा ८२ जना (३४ महिला र ४८ पुरुष) किसान सहभागी थिए ।
/>
दुईपिपल गाउँमा ४ किसीमका (त्रिपुरेश्वर, कुमारी माई, कोट मामिलीत र झिल्केश्वर) गुठीबाट सयौं परिवार प्रभावित छन् । पुस्तौंपुस्ता खेतीपाती गर्दै आएको, कतिपयको घरवाससमेत भएको जग्गाको कानुनी स्वामित्व नहुँदा अंशबण्डा, कित्ताकाट, नामसारी, धितोबन्धकी आदि कार्यमा समस्या परेको छ ।
छलफलमा बोल्ने किसान प्रतिनिधिहरू नारायण दास श्रेष्ठ, कुसबहादुर श्रेष्ठ, रामबहादुर थापा मगर, शिवलाल श्रेष्ठ, शान्ति श्रेष्ठलगायतले गुठी जग्गा रैकर गरी किसानलाई नै लालपुर्जा दिनुपर्ने माग राखेका थिए । कार्यक्रममा सहभागी हुँदै वडा नं. ५ का अध्यक्ष मदन भुजेलले वडाबाटै गुठी पीडित किसानको लगत लिने काम सुरु गर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला भूमि अधिकार मञ्च, नुवाकोटका पूर्वअध्यक्ष चुडामणी गजुरेल, जिल्ला भूमि अधिकार मञ्च, रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपाने, राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका कोषाध्यक्ष पातली थामीले किसानले गुठी जग्गाको लालपुर्जा नहुँदा भोग्न परिररहेको समस्या पीडादायी रहेकाले सङ्गठितरुपमा आन्दोलन गरेर मात्रै राज्यबाट लालपुर्जा लिन सकिने धारणा व्यक्त गर्नु भएको थियो । उहाँहरूले भन्नुभयो, सङ्गठनमा शक्ति हुन्छ, त्यसैले हाम्रो गाउँ मञ्चहरूलाई बलियो बनाएर आन्दोलन गरौँ ।
आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले किसानले जोतभोग गर्दै आएको जग्गाको रैकर लालपुर्जा नपाउनु किसानमाथि ठूलो अन्याय भएको बताउनुभयो । उहाँले भन्नुभयो, सरकारले गुठीको नयाँ कानुन ल्याउँदैछ, नयाँ कानुनले किसानको समस्या समाधान गर्र्नुपर्छ । तर, कानुन कस्तो बन्ने कुराको ग्यारेण्टी छैन, त्यसैले आफ्नो समस्या कसरी समाधान हुन्छ भन्ने ज्ञान किसानसँग हुने भएकाले सरकारले सुन्ने गरी आन्दोलन गर्न जरुरी छ ।
रसुवाको हाकुमा पनि गुठी पीडित किसान भेला
वैशाख १२ गते रसुवा आमाछोदिङ्मो गाउँपालिका वडा नं. १ ठूलो हाकु गाउँमा गुठी किसान भेला आयोजना भयो । भेलामा गुठी पीडित किसानलगायत स्थानीय सरकारका प्रतिनिधिहरूसहित ७३ जना (२५ महिला र ४८ पुरुष) सहभागी भएका थिए ।
हाकुमा किसानहरूले पुस्तौंदेखि जोतभोग गरी जीविका चलाउँदै आएको जग्गा जमिनपछि किसानले थाहा नपाउने गरी पुरानो स्यम्भु घ्याङ गुठीको नाममा दर्ता भएपछि किसानहरू समस्यामा छन् । उनीहरूसँग जोतभोग गरेको जग्गाको लालपुर्जा छैन । विगत १८ वर्षदेखि किसानहरूले आन्दोलनमार्फत जग्गा रैकर गराउन प्रयास गरेपनि हालसम्म त्यो पूरा हुन सकेको छैन । गुठी जग्गाबाट यहाँको ठूलोहाकु, सानो हाकु, हाकुबेसी, फुलबारी, थाङ्कु, गोर्सुम्बा र लुम्बुडाँडा गाउँका करिव ७०० घरधुरी प्रभावित छन् । हालसम्म करिव २०० घरधुरीले मात्रै मोही पुर्जा बनाइ लिन सकेका छन् भने ठूलो सङ्ख्याको किसानहरूसँग मोही पुर्जा समेत नहुँदा समस्या भोगिरहेका छन् ।
छलफलको क्रममा बोल्ने अगुवा लाक्पा तामाङले भने, पुस्तौंपुस्ता खेतीपाती गर्दै आएको, सबैको घरवाससमेत भएको जग्गाको कानुनी स्वामित्व नहुँदा हामीले दुःख पाएका छौँ । हामी सुकुम्बासी सरह जीवन विताउनु पर्दा ज्यादै दुःख लागेको छ ।
छलफलमा किसानहरूले गुठी जग्गा हुँदा भोग्नु परेको पीडा सुनाएका थिए । केही किसानहरूले अहिले पनि गुठी जग्गा जोतभोग गरेवापत कुत तिरीरहेको भएपनि अधिकाशं किसानहरू कुत तिर्न छाडेका छन् । किसानहरूले काठमाडौंस्थित स्यम्भु घ्याङ गुठीलाई प्रति रोपनी वार्षिक २०० रुपैयाँ नगद तिर्नुपर्ने बाध्यता छ । भीर, पाखा, पखेरो, झाडी भएको क्षेत्र बढी छ । उव्जनी हुँदैन, तैपनि मँहगो तिरो तिर्न कठिन भएको गुठी पीडित किसान काल्साङ तामाङले बताए ।
कार्यक्रममा सहभागी हुँदै वडा नं. १ का अध्यक्ष साङलामा तामाङले भन्नुभयो, हामी सबै वडाबासी भूमिहीन सरह
छौँ । कसैको पनि आफ्नो नाममा एक टुक्रा जग्गा छैन । गुठी समस्या भएकाले किसानहरूले दुःख कष्ठ भोगिरहनु परेको छ । अव, हामी सबै एकैसाथ सङ्गठित भएर नै लाग्नुपर्ने अवस्था छ । हामी प्रभावित गाउँ गाउँमा सङ्गठन बनाएरै सङ्गठित आन्दोलन गर्नुपर्ने आवश्यकता भइसकेको छ । उहाँले भन्नुभयो, यो गुठी समस्या समाधानको लागि जिल्ला भूमि अधिकार मञ्चको सहयोग पनि जरुरी हुनेछ । आज धेरै कुरा सुन्न पाएँ, जानकारी भयो । अव जसरी पनि किसानको समस्या समाधानको लागि पहल लिन्छु ।
आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले नापीको समयमा रैकर हुनुपर्ने जग्गा गुठीमा राखिएकाले विना ढिलाई सबै जग्गा रैकर हुनुपर्ने तर्फ स्थानीय सरकारले पहल लिनु पर्ने बताउनु भयो । किसान जुट्न सके पुर्जा लिन सकिन्छ । अहिलेको तिरो बढि भएकाले रैकर सरह हुनेगरी माग गर्ने र वडामा तिरो बुझाउन पाउने व्यवस्था हुन आवश्यक छ । उहाँले भन्नुभयो, सरकारले गुठीको नयाँ कानुन ल्याउँदैछ, यही सन्दर्भमा हामी पनि यहाँको गुठी किसानको समस्याबारे सुझाव दिन्छौँ, समस्या समाधानको लागि सहजीकरणको भूमिका निर्वाह गर्छौँ । तपाईंहरू पनि सङ्गठित हुनुहोस्, समस्याको समाधान खोजौँ ।
राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका कोषाध्यक्ष पातली थामीले भन्नुभयो, यहाँको किसानले गुठी जग्गाको लालपुर्जा नहुँदा भोग्न परिररहेको समस्या पीडादायी रहेछ । अव, सङ्गठितरुपमा आन्दोलन गरौँ, राज्यबाट लालपुर्जा लिन दबाब दिउँ । उहाँले भन्नुभयो, अहिले दाङलगायत देशैभरी गुठी समस्या समाधानको लागि किसानहरू आन्दोलनमा छन्, यहाँ (हाकु) बाट पनि किसानहरू एक पनि फेरी हाम्रो गाउँ मञ्चहरूलाई बलियो बनाएर आन्दोलनमा जुटौँ ।
कार्यक्रममा जिल्ला भूमि अधिकार मञ्च, रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपानेले भन्नुभयो, हामीले धेरै सङ्घर्ष गरेर यहाँका १५० भन्दा बढी किसानहरूलाई मोही पुर्जा दिलाएर आफ्नो हक सुरक्षित गराउन सफल भएका छौँ । फिल्डबुकमा सिसाकलमले लेखिएको हकमा किसानहरूलाई मालपोत कार्यालयले लालपुर्जा बनाएर दिन मानेको छैन । त्यसको लागि हामी सबै फेरी पनि सङ्गठित दबाब दिनुजानुपर्ने अवस्था छ । १८ वर्षदेखि हामी सँगै आन्दोलनमा छौँ, अव छिट्टै यो समस्या समाधानको लागि सङ्घीय सरकारसँग छलफल गर्न जाउँ र समस्या समाधानको लागि पहल लिउँ ।